सम्झनाको हजुरबा र यथार्थ बालापन
माईला काका गोरु नार्दै हुनुहुन्छ। सेतो र कालो रङ्ग मिसिएको गोरुका सिंग सार्है तिखा छन्। एक हल गोरुले घर मुन्तिरको हाम्रो बाँजो बारी जोत्न एक दिन पुरा लाग्छ। काका बिरामी भएको बेलामा बुवाले आफैं जोत्नु हुन्छ। बुवाले बारी जोतेको बेलामा भाई र म लिडुलको माथि चडछौ। हल्लुड़ो र जुवाबाट आएको चुइचुइ आवाजले हाम्रो बालख मस्तिष्कलाई कतिपनि सहानुभूति महसुस हुदैन। बारीका डल्ला फुटालदै हामी लिडुलकोमा झुम्मिरहन्छौ।
हजुरबाले मानो छरेर मुरी उमारेको बारी हुन् यी। यो माटोमा पलेटि कसेर बस्दा, धुलो खेल्दा आफ्नो पनको अनुभूति हुन्छ। सानोमा बुवाले मलाइ अनुभूति र अनुभब को फरक सिकाउनु भएको थियो। त्यो कलिलो मगजले कसरि बुजोस ति कुरा, तर पनि सम्झनामा रातो माटोको स्पर्स ताजै छ, चिप्लिएर लडेको ताजै छ। बारीको सिरानमा हजुबाले दुई बोट आँप लगाउनुभएको थियो । त्यो अझंगको आँपको बोट टाडा बाट हेर्दा एउटै देखिएपनि दुई फरक प्रजातिका हुन, ति अझै पनि छन्। माल्दा र काली आँपको तागतले उकाली ओराली धेरै हिडियो। अझ गोठ पछाडिको सिन्दुरे आँप सम्झदा बालापन उर्लेर आखा भरि टिलपिल हुन्छ। आपको फेदमा बुवाले लाहुरी भैसी बाधँनु हुन्थ्यो। लाहुरी भैसीले जति हाने पनि हामी छक्काएर आपको बोटमा चढ्थियौ। दुध र बिगौतीको मोल पनि कम्ति थिएन। बकैनाको सेउला काट्दा रोटेको चीलाईले धेरै पटक बारीको डिलमा बजारिएको छु। फर्केर हेर्दा मलाई "म" बनाउन लाहुरी भैसीको आफ्नै निस्वार्थ कर्म छ।
काकाले एकोहोरो बारी जोत्दै गर्दा भाई र म रातो माटोको चिसा चिसा डल्ला टाँसेर साना साना छाप्रा बनाऊ थियौ। झरीमा रुज्दै डुम्री र तुलसीको स्वादमा अलमलिदा काँडे घारीमा बट्टाईले पतिङ्गरको गुण्ड बनाऊ थियो । राता माटाका ति साना छाप्रा र बट्टाईका गुण्ड निस्फिक्रीझन्। काकाको फालीले ति माटाका झुप्प्रालाई उप्काएको हेर्दा मन साह्रै खिन्न हुन्थ्यो र पनि हामि साचिकैको घरमा सुत्न पाईनथियो। बाडीले बट्टाईको गुण्ड बगाउंदा सिस्ने घारीमा झ्याउकिरिले आलाप गर्थ्यो। ती साना माटाका छाप्रामा हामि नबसे पनि हाम्रा मानसपटलमा ती बसेका छन्। काकाको फाली र कालो बादल हामीलाई एकै लाग्थे। त्यैपनि माइला काकाले हाम्रो बारीमा गोरु नारेको दिन मलाई रमाइलो लाग्थ्यो। भाइ र म जोतेको बारीमा हाम फराली खेल्थ्येउ। तिन कान्ला नाघेर बुर्लुक्क उफ्रन पाउदा सारै मज्जा हुन्थ्यो। कहिले कहिँ कूटमीराको लाठीले दुई चार सुम्ला पनि भेटिन्थ्यो।
घरको पारीपट्टी रातोमाटे डाँडो छ। दशैंमा त्यहि डाडो कोपरेर गाउ भरिका घर पोत्ने चलन छ। यो डाडो अनि यो देउराली हुँदै जाने गोरेटो मेरो हजुरबाले एक जुनी हिडेको गोरेटो हो। हरेक ठेस लाग्ने पत्थरहरुमा मेरो पुस्तौली सम्बन्ध छ। त्यो गोरेटो बाटो बेसी सम्म जान्छ। बेसी जादा बल्ल सुरु गरेका साना साना धुले घर फर्किदा चोर कमिलाले बनाइसकेका हुन्थे। फु गर्दा उड्ने ति साना घर बनाउन ताँतीका ताँती कमिलाले धेरै मिहिनेत गर्दथे। कमिलाले बनाएका ति घर हावाले फु गर्दा माइला काकाको फाली याद आउथ्यो र मन गरुङ्गो हुन्थ्यो। हरिया क्यातुकेका पात लुछेर यो डाडामा सल्बिर माथि चिप्लिन पाउँदा बेजोड हर्स हुन्थ्यो। चिसोले फुटेका मेरा हजुरबाका कुर्कुचामा बिजने क्यातुकेका काडा लुछ्न पाउँदा बदला लिए जस्तो हुन्थ्यो। यो अनकन्टार गोरेटोले धेरै ऐठन बोकेकोछ, धेरै पटक भाकनिन बिबस बनाएको छ।
धान रोप्नु भन्दा दुइमहिना अघि देखि बेसी खेत बनाउने चटारो सुरुहुन्थ्यो। मुसाले खनेका आलिमा हिलोले टालेर फलाएको धानले वर्षभरिको खर्च टरथ्यो। पातलो बस्तीका सबै रोपार र बाउशे जुट्दा रोपाईको दिनमा पर्ब झैँ लाग्थ्यो। अज्झ दाइँ गर्ने दिनमा त मुलाको अचार र खस्रो रोटि बटारेर अमिलो मोही संग खान पाउदा थकान सबै मेटिनथ्यो। खेत त आज पानि त्यहि छ, तर रोटि चिल्ला भए, मोही बनाउन पनि छोडियो, साथी भाइको घुइचो पनि छैन अनि हजुरबा कछाडमा कतै देखिनुहुन्न, मन खल्लो हुन्छ, गाँठो पर्छ।
Post a Comment